नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट : स्याउ टोक्दै साइकलमा अफिस

 


एजेन्सी  भदौ २८, २०७७

साइकल हाँकेर अफिस गइरहेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्।

शनिबार उक्त तस्बिर प्रकाशित गर्ने स्थानीय पत्रिकाले जनाएअनुसार‚ ​साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि निवासबाट कार्यालय जाँदै गर्दा प्रधानमन्त्रीको तस्बिर खिचिएको हो।

ट्वीटर तथा फेसबुकसहितका सामाजिक सञ्जालमा डच प्रधानमन्त्रीको अहिले निकै प्रशंसा भइरहेको छ। धेरैले उनको सरलताको तारिफ गरेका छन्। त्यसो त‚ साइकललाई नेदरल्याण्डको जीवनशैलीकै अभिन्न अङ्ग मानिन्छ। स्थानीयले दिनहुँ गर्ने कूल ओहोरदोहोरको पच्चिस प्रतिशत यात्रा साइकलमार्फत् गरिन्छ। साइकल चढ्नेलाई हेयको दृष्टिले हेरिँदैन। साइकलको प्रयोगलाई मानिसको स्तर र आयले प्रभाव पार्दैन।

नेदरल्याण्डमा जनसंख्याको तुलनामा साइकलको संख्या धेरै छ। सरकारी तथ्यांकअनुसार‚ जनसंख्या १ करोड ७१ लाख छ भने २ करोड ३० लाख साइकल छन्।

हाजिरीजवाफमा ‘मान्छेभन्दा साइकल धेरै भएको देश कुन हो?’ भनेर सोधियो भने नेदरल्याण्डको नाम लिँदा गलत भइँदैन।

Comments

Popular posts from this blog

बालबालिकाका लागि मोबाइलको प्रयोग घातक

Near-perfect' coronavirus vaccine could be ready for approval by October

Nepal Airlines’ Sr Pilot Vijay Lama tests positive for Covid-19